बागमती प्रदेश सरकारका निर्णय : उपसभामुखको अमेरिकामा हुने अवार्ड कार्यक्रममा सहभागीदेखि अवैतानिक र विज्ञ सल्लाहकार नियुक्तसम्म

हेटौंडा / बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुसूची हेरेफेर गरेर अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रावधान सरकारले थप गरेको हो ।

आवश्यकता अनुसार अवैतानिक र विज्ञ सल्लाहकार नियुक्त गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश यातयाात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गरिएको छ ।

बैठकले प्रदेशको विभिन्‍न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि समेत पास गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको ९ वटा शीत भण्डार अब छिट्टै सञ्चालनमा आउने मन्त्री शर्माले बताए ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको थियो । बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली पारित गर्दै प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ फागुन २७ गतेबाट चैत ५ गतेसम्म गर्ने निर्णय समेत बैठकले गरेको छ । ‘खेल तालिका र व्यवस्थापनको विषय खेलकुद मन्त्रालयले टुंग्याउने गरी हामीले निर्णय गरेका छौं,’ उनले भने ।-इकान्तिपुरबाट साभार

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार