आचारसंहिता उल्लंघन गर्नेलाई रेड कार्ड देखाउने निर्वाचन आयोगको चेतावनी

 

काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचरसंहिता उल्लंघन गर्नेलाई रेड कार्ड देखाउने चेतावनी दिनु भएको छ ।

निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको नियम उल्लंघन गर्नेलाई देखाइने रेड कार्ड खतरनाक हुने चेतावनी दिनुभएको हो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भए रेड कार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव समेत दिनुभयो ।

फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक रहने भएकाले त्यसलाई समयमै महसुस गर्न दल र उम्मेदवारलाई उहाँले आग्रह गर्नुभयो । निर्वाचनका समयमा नियम उलंघन भए/नभएको हेर्न आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजार भन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको भन्दै उहाँले कसैलाई पनि नियम उल्लंघन नगर्न सुझाव दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचन तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले सबै पक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औंल्याउनुभयो । निर्वाचनलाई सहज रुपमा सफल तुल्याउन सामूहिक दायित्वका रुपमा बुझेर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

मुख्य समाचार राजनीति समाचार