सत्ता गठबन्धन फुट्यो, गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

हेटौँडा/ राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । यससँगै पाँच दलीय सत्ता विभाजित भएको छ ।

सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि घोर विरोध भत्सर्ना गरेको छ । केसीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पु¥याउने जिकिर गरे । एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरिनु निन्दनीय भएको उनको भनाइ छ

जनमोर्चाले एमसीसीबारेको व्याख्यात्मक प्रस्तावलाई समेत औचित्यहिन ठहर गरेको छ । एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापीरुपमा जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने तय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । जनमोर्चाले एमसीसीको निरन्तर विरोध गर्दै आएको छ भने संसदमा विपक्षमा मतदान गरेको थियो ।

 

मुख्य समाचार राजनीति