आउँदो वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता : अर्थमन्त्री शर्मा

हेटौँडा/ अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । रुकुममा आज सोमवार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आउँदो वर्षको बजेट तयार गर्न केन्द्रित रहेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिनुभयो ।

अबको बजेट कृषि उत्पादनको आयात घटाउँदै निर्यात बढाउने गरी तयार हुने अर्थमन्त्री शर्माको भनाइ छ । कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै उहाँले आउँदो आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताउनुभयो ।

यस्तै मन्त्री शर्माले अब सरकारको लक्ष्य प्रमुख सहर र ग्रामीण क्षेत्रको सडक दुरी घटाउनेमा केन्द्रित हुने बताउनुभयो । यसो गर्दा उत्पादनलाई बजारमा लैजान सजिलो र सस्तो हुने उहाँको भनाइ छ ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ, खाने तेल, सुनचाँदी लगायतको भाउ बढेकोले नेपालमा पनि मूल्य वृद्धि भएको भन्दै मन्त्री शर्माले मूल्य वृद्धि केही बढेको भए पनि असहज अवस्थामा नपुगेको बताउनुभयो । उहाँले तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख हुने र शोधनान्तर घाटा विस्तारै सुधार भइरहेको दाबी गर्नुभयो ।

यसैबीच मन्त्री शर्माले सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको बताउनुभयो ।

कृषि समाचार समाचार समाज