छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ

हेटौँडा\ प्रहरीले हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–१४ घर भई हाल हेटौंडा–५ मा डेरा लिई बस्ने २६ वर्षीय सन्देश दुलाल र ओखलढुंगा पोखरेली गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ मा डेरा लिई बस्ने ३० वर्षीय गणेशप्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, शनिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–५ डेरा लिई बस्ने दुलालको डेरा चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुर्फिन १६ एम्पुल बरामद गरेपछि निजलाई पक्राउ गरेको हो ।

शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बाट एक जना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बाट एक जना गरी दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै शनिबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–४ मा शंकास्पदरुपमा हिँडिरहेका ओखलढुंगाका घिमिरेलाई चेकजाँच गर्दा लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुर्फिन ५ एम्पुल बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

समाज