संवैधानिक निकायका ५२ जना पदाधिकारीविरुद्ध मुद्दाको आज सुनुवाइहुँदै

 विभिन्न संवैधानिक निकायहरुमा गरिएका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ती नियुक्त गरेका थिए।  त्यसको विरोधमा परेको रिटमाथिको सुनुवाइ गत शुक्रबार हेर्दाहेर्दैमा राखिएको थियो। 

संवैधानिक इजलास हरेक साताको बुधबार र शुक्रबार मात्रै  गठन हुने गरेको छ। संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।  

अधिवक्ता डाक्टर गणेश रेग्मीले संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धमा  रिट दर्ता गरेका थिए। अधिवक्ता रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका थिएनन्। 

न्यायाधीश हरि फुयाँलको इजलासले प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन हुन नसक्ने आदेश गरेको र न्यायाधीशहरूसमेत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बेन्च शेयर गर्न तयार नभएका कारण मुद्दा अलपत्र परेको थियो।

मुख्य समाचार राजनीति समाचार