म्यादी प्रहरीमा भर्ना हुन तीन दिनमा डेढ लाखले दिए आवेदन

हेटौँडा/ आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् ।

देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।

पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको उनले बताए । बुधबारको विवरण आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ । एकसातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिनेछ ।

यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

समाचार समाज