माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी

हेटौँडा/ नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष उत्सव इटेनीले पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले उठान गरेको माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् । पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले फागुन २३ गते नेपाल आयल निगमलाई विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै उनले चैत्र १७ गतेसम्म पनि माग पूरा नभए लोड अनलोड ठप्प पारिने चेतावनी दिएका हुन् । १७ गतेसम्म माग पूरा नभए नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्ज बारा डिपोबाट पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प हुने छ । ‘आन्दोलनबाट उपभोक्तालाई पर्न जाने असुविधाप्रति नेपाल आयल निगम नै जिम्मेवार हुने ज्ञापनपत्रमा जनाईएको छ ।

 

आन्दोलनलाई सफल बनाउन भन्दै फागुन २३ गते नै नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष इटेनीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भैसकेको छ ।

पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपालमा पेट्रोलियम ऐन बनाएर लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी सम्बन्धि व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, नेपाल सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी भाडा लागू गर्न अध्ययन समितिको प्रतिवेदन अनुसारको भाडा यथाशिघ्र लागू गर्नुपर्ने लगायत ६ बुँदे माग राखिएको छ ।

समाचार समाज