नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी

हेटौँडा/ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी रहने छ। शुक्रबारदेखि सुरु भएको बैठक आज अपरान्ह तीन बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ। बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त राखिरहेका छन्। हिजो तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ।

बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो। बैठकमा अधिकांशले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आगामी संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको प्रवक्ता महतले जानकारी दिए। यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा आज दिउँसो ३ बजे बैठकमा आवश्यक निर्णय हुने उनको भनाइ छ। यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरी एक्लै निर्वाचनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामाले आआफ्नो धारणा राखेका थिए।

मुख्य समाचार राजनीति समाचार