प्राधिकरणले मकवानपुरका उद्योगमा विद्युत् कटौती गर्दा उद्योग सञ्चालनमा समस्या, १४ घण्टा विद्युत् भार कटौती

हेटौँडा/ नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरहरूमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको छ ।

प्राधिकरणले मकवानपुरका औद्योगिक फिडरमा केही दिनदेखि नियमित रूपमा विद्युत् कटौती गरिराखेको छ। हेटौंडाका उद्योगहरूमा सोमबार अपरान्ह ४ बजेबाट मंगलबार बिहान सवा ६ बजेसम्म (१४ घन्टा बढी) विद्युत् काटिएको थियो। यसअघि शनिबार साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म र आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म विद्युत् काटिएको थियो। त्यसअघि पनि हरेक दिन एकरदुई घन्टा काट्ने गरिएको थियो।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत प्याकुरेलका अनुसार प्राधिकरणले विद्युत् लाइन काट्ने समय दिनहुँ बढाउँदै लैजाँदा उद्योग सञ्चालन गर्न समस्या हुन थालेको बताए।

मकवानपुरमा ११३ वटा उद्योगहरू सञ्चालनमा छन्। यी मध्ये पूर्णरूपमा सञ्चालनमा आउने उद्योग ९० वटा छन्। ५० वटा उद्योग २४ घन्टा सञ्चालनमा आउने खालका छन्। उनले बिना जानकारी घन्टौंसम्म विद्युत् लाइन काटिँदा यी सबै उद्योगहरू धरासयी हुने अवस्था आएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कँडेलका अनुसार रातको दैनिक १२ घन्टासम्म विद्युत कटौती गर्दा कुल क्षमताको ५० प्रतिशत कम उत्पादन हुन्छ। मकवानपुर जिल्लाभरबाट वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढी र औद्योगिक क्षेत्रबाटमात्रै वार्षिक ४० देखि ५० अर्ब रुपैयाँका सामान उत्पादन हुने गरेको बताए। जिल्लाले २० अर्ब र औद्योगिक क्षेत्रले १० अर्ब रुपैयाँ वार्षिक सरकारलाई बुझाउने गर्छन्।

सबै उद्योगसँग जेनेरेटर नहुने र भएकालाई पनि महँगो डिजेल प्रयोग गर्दा घाटा लाग्ने भएकाले प्रयोग गर्न नसक्ने अवस्था रहेको चौबीसै घन्टा सञ्चालन हुँदै आएको भ्याली प्यालेट फिड हेटौंडा सुरेन्द्र प्रधानले बताए।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत् कटौतीको समस्या बाध्यात्मक भएको बताए। प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुखसमेत रहेका भट्टराईले भारतबाट महँगो मूल्यमा विद्युत् आयात गर्नुपर्दा अपुग भएर कटौती गर्न बाध्य भएको बताए।  भारतले विद्युत् मात्रै नभएर विद्युतका लागि आवश्यक सामग्रीहरू पनि दिन छाडेका कारण व्यवस्थापन गर्न कठिनाइ भएको भट्टराईले बताए।

‘हामीले जनताको घर र व्यापार व्यवसायमा कतै पनि विद्युत् कटौती गरेका छैनौं तर उद्योगहरूले केही समय धैर्य गरिदिनुपर्‍यो,’ उनले भने, ‘अहिलेको अवस्थामा केही घन्टा विद्युत कटौती गर्नु बाध्यता नै हो।’

‘अवस्था यस्तै रहयो भने नेपालको विद्युत उत्पादन नबढ्दासम्म लाइन काटिराख्न सक्छ,’ उनले भने, ‘निकै महँगोमा पनि विद्युत् किनेर सप्लाई गरिरहेका छौं। २२ लाख ग्राहकको लाइन काटिँदैन। उद्योगहरूले १२-१५ घन्टा विद्युत् पाउँछन्, त्यही समयमा व्यवस्थापन गर्नुपर्ने हुन्छ। कम्प्रमाइज गर्नुपर्छ।’

मुख्य समाचार समाचार समाज