माओवादी, एकीकृत समाजवादी र जसपालाई एक/एक महानगर दिने तयारी

हेटौँडा/ सत्तारूढ गठबन्धनले आज बेलुकीसम्म महानगरको भागबन्डा गर्ने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ।

‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ,’ उनले आज पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा भने। छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ।

माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ।

प्रचण्डले माओवादीले कम्तिमा एक महानगर लिने बताए। भरतपुर पहिले पनि जितेको हुनाले त्यो महानगर लिने भनिएको उनको भनाइ थियो। तर भरतपुर नै चाहियो नभनिएको उनले प्रष्टाए। काठमाडौं वा विराटनगरमध्ये एक दिन पनि माओवादीले मान्ने उनले बताए।

११ उपमहानगरमा पनि दलहरूले भागबन्डा गर्ने तयारी गरेका छन्। आज बिहान सत्तारूढ दलका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेका थिए। दिउँसो केहीबेर स्थगित बैठक फेरि बस्ने तयारी छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ।

मुख्य समाचार राजनीति समाचार