मकवानपुरगढीमा बाँदर आतंक,लगाएको मकै स्वाहा!


८ चैत्र,मक्रान्चुली- लगाएको बाली बाँदरले नष्ट गरेपछि मकवानपुरगढीका किसानहरु चिन्तामा परेका छन् । मकवानपुरगढी पालिकाको प्रायः सबै वडाहरुमा बाँदर आतंक छ ।

मकवानपुरगढीका पाखो भित्तामा लगाएको बालीमा त बाँदरले नोक्सान गरिरहेकै थियो , बाँदरबाट सुरक्षित मानिएको मकवानपुरगढीका ठुलाफाँटहरु कुर्ले,धमिलेफाँट,धादिङ लगायतमा समेत बाँदरले आतंक मच्चाउन थालेपछि यहाँका किसानहरु थप चिन्तामा परेका हुन् ।

वडा नम्बर ३ मक्रान्चुली घर भएका केदारप्रसाद लम्सालले जग्गा भाडामा लिएर सोही वडाको धमिलेफाँटको बिचमा करिब १० कठ्ठामा मकै खेती गरेका छन् । तर करिब ४ कठ्ठा जतिको मकै बाँदरले नष्ट गरेपछी उनी अहिले चिन्तामा परेका छन् । घोगा लागिसकेको बाँकी रहेको मकै पनि जोगाउन अहिले मुस्किल परिरहेको उनी बताउँछन् । दिनको समयमा मानिसहरू खेतमा हुने तर फाँटमा कसैको पनि घर नभएकोले मानिसहरू घर गएको मौका पारी दिनमा भन्दा साँझ बिहानमा बाँदरले क्षेती पुर्याउने गरेको उनी बताउँछन् । बाँदरले बाली नोक्सान पुर्याए पछि जग्गाको भाडा तिर्न पनि मुस्किल भएको लम्सालको गुनासो छ ।

यो समस्या उनको मात्र हैन । फाँटमा लगाएको बाली बाँदरबाट जोगाउन मुस्किल परेको अर्का किसान कृष्ण लामिछाने बताउँछन् । बारीमा बाँदरले दुख दिएकै कारण मक्रान्चुलीका अधिकांश जमिनमा अहिले खेती गर्न छोडिएको छ । खेती गर्नुको सट्टा घाँस लगाएर पशुपालन गरिरहेका यहाँका अधिकांश मानिसको धमिलेफाँटमा खेत छ । सिंचाइको सुविधाका कारण त्यहाँ ३ बाली खेती गरि खाद्यान्नको आपूर्ति गरिरहेका किसानका लागि त्यहाँको बाली पनि असुरक्षित बनेपछी अहिले किसानमा चिन्ता थपिएको छ ।

मकवानपुरगढीका अधिकांश ठाउँमा बाँदरले दुख दिएपछी गाउँपालिकाले गत वर्ष किसानलाई बाँदर धपाउने मेसिन समेत बाँडेको थियो । शुरु शुरुका समय त्यो मेसिन पड्काउँदा बाँदर भाग्ने गरेको भएपनी अहिले भने भाग्न छाडेको किसानहरु बताउँछन् ।

अर्थ कृषि समाचार मुख्य समाचार समाज