मकवानपुरमा ३ लाख बढी मतपत्र आइपुग्यो

हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तीन लाख २५ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

निर्वाचनको लागि चाहिने आवश्यक विभिन्न प्रकारका सामग्री जिल्लामा आइपुगेको र केही सामाग्री प्रदेश निर्वाचन कार्यालयबाट ल्याउन बाँकी रहेको निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत सागर शर्माले जानकारी दिए । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको शर्माले बताए ।

शर्माले हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको बताए । मतपत्रसहित निर्वाचन सम्बन्धि सामाग्री सम्बन्धित मतदानस्थालका प्रमुखलाई बैशाख २३ गते देखि २७ गतेसम्म बितरण गरि सक्ने उनले जानकारी दिए ।

निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा करिब १८ सय बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ जनाले मतदाता रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २० तथा १०२ वडाका वडाध्यक्ष र सदस्य पदमा ५२० गरी कूल ५३० पदको मतदान हुने बताइएको छ ।

यसअघि विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल मतदाता सङ्ख्या दुई लाख २७ हजार ७५९ रहेको थियो । जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेको बताइएको छ ।

मुख्य समाचार समाचार समाज