मकवानपुरगढी ३ मा एमालेको घरदैलो,मतदाता भन्छन् फेरि पनि घिमिरेलाई नै हाम्रो भोट


२० बैशाख,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एमालेले आज घरदैलो कार्यक्रम गरेको छ । आज ३ नम्बर वडाको देविडाँडा र घमिले टोलमा घरदैलो तथा मतदाता सँग भेटघाट गरिएको वडा अध्यक्षका उमेदवार तथा निवर्तमान वडाध्यक्ष भागवत घिमिरेले बताए ।

भेटघाटका क्रममा मतदाताले विगत पाँच वर्षको अवधिमा गाउँ वस्तीमा विकासको मुल फुटेको भन्दै फेरि पनि घिमिरेलाई नै मत दिने बताएका छन् । बिजुली , खानेपानी , बाटोघाटो लगायतमा पछिल्लो समय धेरै नै काम भई आमूल परिवर्तन भएको भन्दै घरघरमा खानेपानी र घरघरसम्मै मोटरबाटो पुर्याउन घिमिरेको नै देन रहेको बताए । यस्तो विकासे काममा अग्रसरता हुने वडाध्यक्ष लाई छाडी अन्त मतदान गर्न नसकिने भन्दै घिमिरे लगायत एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।

“गाउँघरसम्म बिजुली त जसोतसो आएको थियो तर बलियो पोल नहुँदा लथालिङ्ग अवस्थामा भएको बिजुलीलाई फलामको पोल हाली ब्यवस्थित बनाउन हाम्रो वडा अध्यक्ष भागवत जी ले गरेको योगदान भुल्न सकिन्छ र ? ” घमिले टोलका बृद्ध रत्नप्रसाद घिमिरेले निकै खुशी हुँदै आफ्ना भनाई राखे ।


घरदैलो कै क्रममा सोही ठाउँ निवासी उदय बहादुर तिमल्सिना भन्छन् – खानेपानीको सारै समस्या थियो त्यो पनि आनन्द भयो । आगनीमा रहेको मिटरवाला धारो देखाउँदै तिमल्सिनाले भने । वर्षाको समयमा खोल्सा खोल्सामा पानी हुने तर हिउँदमा खानेपानीको समस्याले एक गाग्री पानी ल्याउन पनि भौतारिनु पर्ने अवस्था बाट बल्ल मुक्त भैयो उनले भने ।

पछिल्लो पाँच वर्षको अवधीमा ३ नम्बर वडामा खानेपानीको समस्यालाई समाधान गरिएको छ । वडा भित्र ३ वटा लिफ्ट सिस्टमका खानेपानी योजना संचालनमा छन् । जसमध्ये टावरडाँडा खानेपानी योजना सबैभन्दा पछिल्लो योजना हो । यस योजनाबाट वडा नम्बर ३ र ४ का गरि झण्डै दुईसय पचास घरपरिवारलाई खानेपानीको समस्या समाधान भएको छ । यो योजनाको अलावा देबिडाँडा खानेपानी योजना र जागृती खानेपानी योजनाबाट करिब पाँच सय घरपरिवार लाभान्वित भइरहेका छन् ।

यो पाँच वर्षको अवधिमै बाटोघाटो पनि धेरै नै बनेका छन् । वडाका धेरैजसो भित्री भित्री सडकलाई समेत पक्की बनाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ र ६ आमभन्ज्याङबाट गाउँपालिका ओहोरदोहोर गर्नको लागि सामरी खोलामा ३ नम्बर वडा भित्र नै साना-ठुला गरि पाँच वटा पुल बनेका छन् । एक बेलिबृज सहित ३ वटा फलामे पुल निर्माण भैसकेका छन् ।

देविडाँडाबाट बाग्दली जोडिएको बेलिबृजबाट गाडिहरु ओहोरदोहोर गरिरहेका छन् । बाँकी दुईवटा पक्कीपुल निर्माणाधीन अवस्थामा छन् । सोल्टीमोड-डुम्रेकुना जोडिने पक्की पुलको निर्माण अन्तिम चरणमा छ । लामो समय देखि निर्माणाधीन अवस्थामा रहेको तल्लो कालिखोलाबाट धादिङ जोडिने पुल निर्माणको काम अगाडि बढेको छ । पुल नहुँदा सामरी खोलाले वर्षेनि मानिसको ज्यान गइरहेकोमा पुल निर्माणले भेलबाढीमा खोला तर्नुपर्ने बाध्यता हटेको छ ।

एमालेको आजको घरदैलोमा मकवानपुर जिल्ला कमिटीका सल्लाहकार संयोजक बलराम हुमागाई , जिल्ला कमिटी सदस्य हरिप्रसाद कंडेल लगायत उमेदवारहरु भागवत घिमिरे , प्रेमबहादुर थोकर , मन्जु योन्जन , बिमला बिक र बिदुर हुमागाई सहित सयौं कार्यकर्ताहरुको सहभागीता रहेको थियो । वडाका सबै टोल टोल, घर घरसम्म मतदाताहरुसँग भेटघाट गरिने वडा सदस्यका उमेदवार बिदुर हुमागाईले बताएका छन् ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय