अधुरा र बाँकी रहेका काम आगामी पाँच वर्ष भित्र- हुमागाई


२५ बैशाख,मक्रान्चुली- नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उमेदवार बिदुर हुमागाईले गएको पाँच वर्षमा गाउँपालिका भित्र विकास निर्माणको काम धेरै नै भएको भन्दै हुँदै गरेका अधुरा काम तथा बाँकी रहेका काम सम्पन्न गर्न एमालेले जित्नु पर्ने बताएका छन् ।

वडा नम्बर ३ को आयोजनामा आज देविडाँडामा भएको कोण सभालाई सम्बोधन गर्दै अध्यक्षका उमेदवार हुमागाईले सो कुरा बताएका हुन् । गएको पाँच वर्षमा बाटोघाटो , पुल कुलेसाका काम उल्लेख्य रुपमा गरिएको भन्दै एउटै पुल नभएको गाउँपालिकाको मध्य भागमा रहेको सामरी खोला तथा अन्य खोलाहरुमा साना-ठुला गरि करिब एक दर्जन पुल निर्माण भैसकेको भन्दै हुमागाईले आगामी ४-५ वटा पुलहरु निर्माणका चरणमा रहेको बताए ।

कृषि उत्पादन तर्फ दूध , अनाजमा अनुदानको ब्यवस्था गरिएकोमा आगामी वर्ष त्यसलाई दोब्बर वृद्धि गरिने उनले बताए । मातृत्व स्वास्थ्य संरक्षणमा विशेष ध्यान दिनु पर्ने भन्दै आगामी वर्षबाट सुत्केरी आमालाई दश हजार अनुदानको ब्यवस्था गरिने तथा बृद्ध, बालबालिका र अपाङ्गता भएका भएका हरुलाई विशेष कार्यक्रम ल्याइने हुमागाईले बताएका छन् ।

एमालेका नेता बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरू श्रीधर पोखरेल , हरिप्रसाद कंडेल , तेजप्रसाद लम्साल , हरिप्रसाद अधिकारी , खिलप्रसाद चौंलागाई , रामजी सापकोटा , उपाध्यक्षकि उमेदवार सन्तु थिङ लगायत ३ नम्बर वडाका वडाध्यक्षका उमेदवार भागवत घिमिरे लगायत वडा सदस्यहरूको आतिथ्यता रहेको थियो ।

एमाले मकवानपुरगढीका नेता चन्द्र योन्जनले संचालन गर्नुभएको कार्यक्रम एमाले वडा नम्बर ३ का अध्यक्ष राजु सापकोटाको अध्यक्षतामा भएको हो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय