जेठ ३ मा दुवै सदनको अधिवेशन आह्वान

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मंगलबार अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।
राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९–१–२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मंगलबारका दिन चार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

मुख्य समाचार राजनीति