आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम छ। पार्टीका शीर्ष नेता, सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासक लगायतले सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ। अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ। बुधबार र बिहीबार राजधानीमा प्रशिक्षण आयोजना हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन्। उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन्। उद्घाटन सत्रपछि पहिलो दिन ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिने कार्यतालिका छ।

मुख्य समाचार