प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’

काठमाडौं । बिहीबार दिनभर जसो राजनीतिक वृत्त नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ को चर्चाले तरंगित बन्यो ।

माओ‌वादीका अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गरेका थिए । उनको दाबीलाई बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रचण्डलाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गरेसँगै यस विषय चर्चामा रहेको छ ।

 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अफर आएको बताए पनि कुन दल र कसले भन्ने खुलाएनन् ।

‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिदैँ भनेको थिएँ, प्रचण्ड कमरेड, तपाईंलाई मात्र होइन, अन्त पनि आएको होला है’ अध्यक्ष नेपालले भने । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएको समाचारहरु सार्वजनिक भइरहँदा प्रचण्ड र माधव स्वयंले प्रधानमन्त्रीको अफर आएको बताएसँगै सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका नेताहरु सशंकित बनेका छन् ।

 

वाम गठबन्धनको विषयमा ति दलहरुबीच भित्रभित्रै छलफल भइरहेको र खासगरी एमालेले यसको अगुवाइ थालेको समाचारहरु बाहिरिँदा पाँच वर्ष पहिला जस्तै चुनावको समयमा वाम गठबन्धन बन्ने त होइन भन्ने प्रश्न कांग्रेस र तीन दलका कार्यकर्तामा प्रश्न उब्जिएको छ ।

 

तर, तत्कालीन नेकपामा विवाद भएदेखि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका र अहिले दुई फरक फरक पार्टीका अध्यक्ष प्रचण्ड र नेपालले वाम गठबन्धनको विषयलाई अस्वीकार गरिदिएका छन् ।

समाजवादीका अध्यक्ष नेपालले एमाले गठबन्धनको विकल्प हुन नसक्ने र एमालेसँग एकताको सम्भाना नै नभएको बताएसँगै आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बन्ने सम्भावना कमजोर देखिएको छ ।

 

प्रधानमन्त्रीको ‘कार्ड’ फालेर भूलभूलैयामा पार्न र मुर्ख बनाउन खोजेको अध्यक्ष नेपालको भनाइ छ ।‘यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो । यस्तो चालबाजीको तरिकाले विगतमा पनि नोक्सान मात्र गर्‍यो’, अध्यक्ष नेपालले भने, ‘अब पनि चालबाजीको सहारा लिने ? मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौं ।’  उनले यस्ता लोभलालचा भुलभुलैयामा पर्ने मान्छे आफू नभएको भन्दै प्रधानमन्त्रीको प्रस्तावमा नलोभिने दाबी गरे ।-khabar break

 

 

मुख्य समाचार