वातावरणीय सचेतना र्याली तथा सभा गर्दै हेटौंडामा विश्व वातावरण दिवस मनाईयो

 

हेटौंडा / सबैको साझा पृथ्वी भन्ने नारासहित हेटौंडामा वातावरणीय सचेतना र्यालीको आयोजना गर्दै ५० औं बिश्व बाताबरण दिवस मनाइएको छ ।
हेटौडा उपमहानगरपालिका टोल विकाश संस्था नगर समन्वय समितिको आयोजनामा सप्ताहब्यापी कार्यक्रमको समापन तथा पुरस्कार बितरणको आयोजना गरि हेटौंडामा बिश्वबाताबरण दिवस मनाइएको हो।

हेटौंडाको हुप्राचौरबाट निकालिएको बाताबरणीय सचेतना र्याली पारिजातपथ, बुद्धचोक, सिमाचोक हुँदै रोयल पार्टी प्यालेसमा पुगेर समापन समारोहमा परिणत भएको थियो । सचेतना र्यालीमा विभिन्न राजनैतिक दल, टोलविकास संस्थाका पदाधिकारी, विद्यालयका विद्यार्थी, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्था, पत्रकार एव् नगरवासीको संलग्नता रहेको थियो ।

बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल तथा हेटौडा उपमहानगरपालिकाको मेयर मिना लामा र उपमेयर राजेश बानियाले रिवन काटेर हुप्राचौरमा र्यालीको उद्घाटन गर्नु भएको थियो ।
र्याली पछि भएको हेटौँडा उपमहानगरपालिका मेयर मिना लामा, उपमेयर राजेश बानिंया सहित नवनिर्वाचित जनप्रतिनिधिहरु, टोल विकास संस्थाका सदस्यहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच वातावरण दिवसकै अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदुषणरहित उपमहानगर बनाउन मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभयो । मन्त्री खड्काले राजनीतिक दलहरुको घोषणा पत्र वातावरण र प्रकृतिमैत्री हुनुपर्ने बताउनुभयो । विकास र राजनीतिलाई पर्यावरणको मुद्धासंग जोडे मात्र राजनीतिक दलको कार्य दिशा पुरा हुने मन्त्री खड्काले बताउनुभयो । उहाँले भावी सन्ततीको लागि पनि वातावरण जोगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वातावरणको सरसफाई क्षेत्रमा योगदान पुर्याउने बाताबरण बिदहरु बिके महर्जन, धुर्ब भुजेल, गणेश श्रेष्ठ र बेगम बराललाइ सम्मान गरिएको थियो । त्यसैगरी हेटौंडा ९ श्रीजना टोलका सरसफाइ अभियानकर्ताहरु लिला लामा र लक्ष्मी लामालाइ पनि कार्यक्रमको अबसरमा सम्मान गरिएको थियो ।

त्यस्तै टोल बिकाश संस्थाका नगर समन्वय समितीका सदस्य हुँदै हेटौंडा १ का निर्वाचित वडा सदस्य मनु दाहाल, हेटौंडा २ का वडा सदस्य तारा ढुंगाना एवं नगर समन्वय समितीका उपमहासचिब हुँदै हेटौंडा ५ मा निर्वाचित वडा सदस्य ज्ञान बहादुर थापालाइ पनि सम्मान गरिएको थियो ।

वातावरण दिवसकै अवसरमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।
बाताबरणीय सचेतना र्यालीमा उत्कृष्ट सहभागिता जनाउने आठ वटा समुहलाई नगदसहित पुरस्कृत गरिएको छ । र्यालीमा टोल विकास संस्थातर्फ हेटौंडा–५ स्थित अब्बलडाँडा टोल विकास संस्था प्रथम हुँदै नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । हेटौंडा–८ स्थित विकास टोल विकास संस्थाले द्वितीय हुँदै १० हजारसहित सम्मानपत्र पाएको छ । हेटौंडा–४ को सूर्यभैरव टोल विकास संस्था तृतीय हुँदै ५ हजारसहित सम्मानित भएको छ । यस्तै हेटौंडा–४ स्थित चिसापानी टोलविकास संस्था र हेटौंडा–११ स्थित झोलुङ्गे पुल टोल विकास संस्थालाई सान्त्वना पुरस्कार तीन–तीन हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै विद्यालयतर्फ हेटौंडा–१ को अमर मावि प्रथम हुँदै पुरस्कारस्वरुप नगद ७ हजार प्राप्त गर्न सफल भएको छ । द्वितीय पुरस्कार भुटनदेवी माविको स्काउट टोलीले जितेको छ । स्काउट समूहले नगद ५ हजार प्राप्त गरेको छ । हेटौंडा–७ को नवजोति माविलाई तृतीय पुरस्कारस्वरुप ३ हजार नगद प्रदान गरिएको टोल विकास संस्था नगर समन्वय समिति सचिव शिवहरी दाहालले बताउनु भयो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना लामा, उप प्रमुख राजेश बानिया, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इश्वर ढुंगाना, कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका जिल्ला सचिब भिम पाख्रीन, नेकपा एसका जिल्ला सचिब बिष्णु दाहाल, राप्रपा नेपालका केन्द्रिय सदस्य अम्बिका खतिवडा, विभिन्न वडाका वडा अध्यक्ष एवं नगर कार्यपालिकाका सदस्यहरु, उपमहानगरपालिकाका विभिन्न महाशाखाका प्रमुखहरु, विभिन्न सामाजिक संघ संस्थाको प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय