मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकसहित २ जनाको मृत्यु 

बाराको महागढीमाई नगरपालिका-८ हुलाकी राजमार्ग सडक खण्डस्थित थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुर्वण गाँउपालिका-७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादव रहेका छन् ।

आइतबार राति करिब ११ बजे प्र ०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । 

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि कलैयामा रहेको जिल्ला अस्पताल कलैयामा लगिएको थियो । 

जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

समाज