एमालेको आरोप : सरकारले स्वास्थ्य बीमामा निजी क्षेत्रलाई प्रवेश गराउन खोज्यो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य बीमामा सरकारले नियोजित षड्यन्त्र गरेको आरोप लगाएको छ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति सरकारकाे ध्यानाकर्षण जनाएका हुन्। 

उनले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रुपमा पूर्ववर्ती सरकारले कार्यान्वयनमा ल्याएको सर्वविदितै छ। वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको छ।’

सरकारको नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको आरोप लगाएको छ। 

‘बजेट वक्तव्यको १५१ नं. बुँदामा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ’ भनी उल्लेख गरिएको छ’ विज्ञप्तिमा भनेका छन्। 

मुख्य समाचार