बलात्कार प्रयास गर्ने वडाध्यक्ष धरौटीमा छुट्दा फूलमालाले स्वागत

हेटौंडा । १४ वर्षकी किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका वडाअध्यक्ष धरौटीमा रिहा भएका छन् ।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिंह घलान २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन् । पक्राउ परेको एक सातामा वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो । वडाध्यक्ष रिहा भए पनि किशोरी भने सेफ हाउसमा रहेकी छिन् । गत असार १९ गते हेटौंडामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन आएकी कैलाश– ९ को कालिका माविकी विद्यार्थीले आफूलाई वडाध्यक्षले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हेटौंडा– १ जरुवाटोलस्थित असन गेष्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ः३० बजे वडाध्यक्षले बलात्कार गर्ने उद्देश्यले शरीरको संवेदनशील अंगहरु सुम्सुम्याएको जाहेरीमा विद्यार्थीले उल्लेख गरेकी थिइन् । घटना १९ गते रातिको भए पनि किशोरीले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले २२ गते उजुरी बुझ्न आनाकानी गरेपछि २३ गते महिला अधिकारकर्मीको सहयोगमा जाहेरी दर्ता भएको थियो । बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा हुँदा उनलाई फूलमालाले स्वागत गरिएको छ ।  

मुख्य समाचार