शर्मालाई भोली बयान लिँदै छानविन समिति

पूर्व अर्थ मन्त्री जनादएन शर्माएलाई छानविन समितीले भोली बयान लिने भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूलाई घुसपैठ गराएको आरोपपछि बनेको छानविन समितीले भोली बयान लिने भएको हो ।  अर्थमन्त्रीमाथि अनुसन्धान गर्न बनेको संसदीय समितिले मन्त्रालयमा रहेका अन्यसँग बयान लिई सकेको र अब पूर्वमन्त्री शर्मासँग बयान लिन बाँकी रहेको समितीका एक सदस्यले बताए । हालसम्म समितिले अर्थमन्त्रीविरुद्ध कुनै पनि प्रमाण जुटाउन सकेको छैन । अर्थमन्त्रालयको सीसीटीभी फुटेज नभेटिएको र अर्थमन्त्रालयभित्र घुसपैठ भएको कसैले स्वीकार नगरेको अवस्थामा उक्त समितिले कस्तो प्रतिवेदन देला भन्ने प्रतिक्षारत रहेको छ । यदि समितिले प्रमाण जुटाउन नसकेर अर्थमन्त्रीलाई सफाई दिन बाध्य भयो भने शर्मा फेरि अर्थमन्त्री बन्न सक्ने ढोका खुल्नेछ । त्यसबेला माओवादीले फेरि उनैलाई अर्थमन्त्रीमा सिफारिस गर्ने देखिएको उनले बताए ।  यदि समितिले सीसीटीभी फुटेज रिकभर गरेर मन्त्रालयमा घुसपैठ भएको प्रमाण भेट्यो भने शर्मा मन्त्रलय प्रवेश हुने सम्भावना समाप्त हुने र त्यसबेला उनले फौजदारी मुद्दाको सामना पनि गर्नुपर्ने हुन्छ र उनको राजनीतिक जीवन नै दाउमा लाग्न सक्ने बताइएको छ  । उनी मात्र नभएर अर्थमन्त्रालयका उच्चपदस्थहरूमाथि पनि नैतिक र कानूनी प्रश्न उठ्नेछ । यसर्थ शर्माको राजनीतिक भविष्य संसदीय समितिको हातमा छ । समितिले आज बिहान बसेको बैठकमा अर्थमन्त्री विरुद्ध लागेको आरोपको विषय छानबिन गर्नेक्रममा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानासँग बयानका लागि भेटघाट गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालले पूर्वअर्थसचिव ढुंगानासँग बयान लिएको रातोपाटीलाई बताए । भने, ‘छानबिनका क्रममा आज विहान १० बजेसम्म ढुंगानासँग बयान लिइयो ।’ समितिले ढुंगानासँग अर्थमन्त्रालयमा जडित सीसीटीभीको क्षमता, बजेट निर्माण प्रक्रिया लगायतका विषयमा बयान लिएको हो । समितीलाई छानविनका लागि सहज होस भन्दै शर्माले   गत असार २२ गते राजीनामा दिएका थिए । असार २२ गते नै बनेको समितीले काम सुरु भएको मितिले १० दिनभित्र समितिले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्नुपर्ने बताइएको भए पनि समितीले सरकारलाई प्रतिवेदन बुझाउन बाँकी छ ।

मुख्य समाचार