मूल्यवृद्धि विरुद्ध साउन १६ गते जनप्रदर्शन गर्दै एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चर्को महँगीविरुद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै प्रदर्शनकाे तयारी गरेकाे हाे। 

पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महँगीविरुद्ध साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको छ। पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ।

सरकारले महँगी नियन्त्रण गर्न पहलकदमी लिनेतर्फ कुनै कदम नचालेको एमालेको आरोप छ।  

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनवटै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्। राजधानीको वसन्तपुरबाट शुरु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए। 

बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो। 

मुख्य समाचार