मकवानपुरगढीमा हटाइएका करार कर्मचारीहरुद्वारा म्याद थप गर्न माग

९ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गते देखि हटाइएका कर्मचारीले आफ्नो करार अवधि थप गर्नका लागि माग गरेका छन् । गाउँपालिकाले म्याद थप नगरेका कर्मचारीहरुले आज गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानलाई ज्ञापनपत्र बुझाउँदै म्याद थप गर्नका लागि आग्रह गरेका हुन् ।

पालिकाले आफुहरुलाई कानुन बमोजिम सम्पुर्ण प्रक्रिया पूरा गरि सार्वजनिक सुचना प्रकाशित गरि लिखित , मौखिक र प्रयोगात्मक परिक्षाबाट छनौट गरिएकाले निरन्तर काम गर्न पाउनुपर्ने माग गरिएको छ ।

२०७४ साल देखि गाउँपालिकाको बिभीन्न शाखामा कार्यरत रहेको र अबका दिनहरुमा पनि काम गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । पालिकाका कार्यरत कर्मचारीलाई हटाएर फेरी नियुक्त गर्दा काममा समेत असर गर्ने भएकाले कार्यरत कर्मचारीहरुको करार थप गर्न आग्रह गरिएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय