कर्मचारी बढी भएको भन्दै करार कर्मचारीको म्याद थप नगरेको मकवानपुरगढी गाउँपालिकाले कर्मचारी माग्यो

११ साउन,मक्रान्चुली- कर्मचारी बढी भएको भन्दै गत असार ३२ गते एक सुचना जारी गर्दै विभिन्न पदमा करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगरेको मकवानपुरगढी गाउँपालिकाले विभिन्न पदको लागि पुनः करारका कर्मचारीहरु माग गरेको छ । गाउँपालिकाले बुधबार एक सुचना मार्फत करार कर्मचारीको लागि आवेदन आव्हान गरेको हो ।

सोमबार बसेको गाउँपालिकाको बैठकको निर्णय अनुसार विभिन्न पदका लागि कर्मचारी माग गरिएको हो ।गाउँपालिकाले ईन्जिनियर (छैठौँ तह) पदको लागि १ जना , सव–ईन्जिनियर ४ जना , अ.न.मी. ३ जना , प्रशासक सेवा अ.न.मी. १ जना , ल्याब असिष्टेण्ट २ जना र कार्यालय सहयोगी ११ जना गरी २२ जना कर्मचारीहरु मागेको छ ।

तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभएको छ। कर्मचारीको छनौट लिखित र अन्तरवार्ताबाट गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाको गत असार ३१ गते बसेको कार्यपालिकाको बैठकले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौताको नविकरण नगर्ने निर्णय गरेको थियो । साथै सोही बैठकले करार म्याद समाप्त भएका कर्मचारीहरुको म्याद थपका लागि साउन १५ गते भित्र सिफारिस गर्नेगरी वडा नम्बर ६ का वडाध्यक्ष एवम् आर्थिक समितिका संयोजक कृष्ण बजगाईको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति समेत बनाएको थियो ।

तर गाउँपालिकाले करार सेवामा विभिन्न पदमा कार्यरत कर्मचारीहरुलाई म्याद थप नगरी कर्मचारी माग गरेको सुचना निकालेको छ ।

यता म्याद थप नगरिएका कर्मचारीहरुले भने आफुहरु विधि र प्रक्रिया पूरा गरि नियुक्त भएकाले कामको निरन्तरता हुनुपर्ने माग गरेका छन् । साथै उनीहरुले यसै विषयलाई लिएर गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

नेकपा एमाले मकवानपुरगढीले पनि करार सेवामा कार्यरत कर्मचारीहरुलाई आस्थाका आधारमा हटाउँदा सच्चा कर्मचारीहरु प्रती अन्याय हुने भन्दै कार्यसम्पादन मुल्यांकन गरि सोही आधारमा पुनः म्याद थप्नुपर्ने माग गरेको थियो ।

मुख्य समाचार समाचार