भक्तपुर नगरपालिकाले गर्‍यो सरकारी पात्रो अस्वीकार, जनैपूर्णिमा र गाईजात्रा एकैदिन नमनाउने

भक्तपुर : जिल्लामा जनैपूर्णिमा (गुन्हुँपुन्ही) पञ्चांग निर्णायक समितिको पात्रोमा उल्लेख भएभन्दा एक दिनअघि नै मनाइने भएको छ। भक्तपुरवासीले साउन २६ गते नै जनैपूर्णिमा मनाउन लागेका हुन्। समितिको पात्रोमा एकै दिन अर्थात् साउन २७ गते जनैपूर्णिमा र गाईजात्रा उल्लेख छ। दुवै पर्व एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै तलेजुका पुजारीसँगको छलफलपछि भक्तपुर नगरपालिकाले बिहीवार जनैपूर्णिमा र शुक्रवार गाईजात्रा (सापारु) मनाउने निर्णय गरेको हो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ। तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवं पुजारी कर्माचार्य र जोशीले आपसमा ज्योतिषशास्त्रको आधारमा छलफल गरी चाडपर्व मनाउने निर्णय गर्छन्सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ।

मुख्य समाचार