तीनपाङ्ग्रे सवारी व्यवस्थापनका लागी हेटौंडामा स्टीकर अभियान सुरु 

हेटौंडा । हेटौंडा बजार क्षेत्रमा तीनपाङ्ग्र सवारी व्यवस्थापनका लागी बिहीबारबाट स्टीकर अभियान सञ्चानल गरिएको छ । 
अव्यवस्थित र मनलाग्दी सञ्चालित तीनपाङ्ग्रे सवारी(अटो, मयुरी)का कारण दुर्घटना बढ्नुका साथै प्रदेशको राजधानी कुरुप देखिएको भन्दै हेटौंडामा स्टीकर अभियान सुरु गरिएको हो । 
बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपयेयर राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यलगायतले संयुक्त स्टीकर अभियानको शुभारम्भ गरेका हुन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उपमहानगरपालिकाले यस अभियानको थालनी गरेको हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त सवारीलाई सञ्चालन अनुमति सहितको स्टिकर प्रदान गरेको हो । 
उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरी सहित विभिन्न सरोकारवाला निकाय संगको छलफल र निरीक्षणबाट प्राप्त सुझावको आधारमा स्टीकर अभियानको थालनी गरिएको हो । 
तीनपाङ्ग्रे सवारीको स्टीकर अभियानको शुभारम्भ कार्यक्रममा अहिलेसम्म कारबाहीमा नपरेका असल अटो चालकद्वय कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । 
अब स्टीकर टाँसिएका तीनपाङ्ग्रे मात्रै उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने पाउने भएका छन् । २०७६ पुस ७ गते भन्दा अघि हेटौंडामा सञ्चालन हुँदै आएको अटो तथा मयुरीलाई स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो । ०७६ पुस ७ गतेबाट उपमहानगरपालिकामा तीनपाङ्ग्रे सवारी दर्ता बन्द गरिएको थियो । 

मुख्य समाचार