मकवानपुरगढीमा हटाइएका पञ्जिकरण शाखाका कर्मचारीलाई कामकाज गराउन विभागको पत्र


२४ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा गत श्रावण १ गते देखि हटाइएका पञ्जिकरण शाखामा कार्यरत कर्मचारीहरुलाई म्याद थप गरि कामकाज गराउने ब्यवस्था मिलाउनु भनी गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गाउँपालिकालाई पत्र पठाएको छ ।

सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत पालिकामा एम आई एस अपरेटर पदमा कार्यरत राम प्रसाद दाहाल,फिल्ड सहायक सुमित्रा गौतम र सुवर्ण न्यौपानेलाई कार्यक्षमता तथा दक्षताको आधारमा मापदण्ड बमोजिम म्याद थप गर्न विभागले पत्र पठाएको हो । गाउँपालिकाले श्रावण १ गते देखि हाजिर नगराएकाले तिनै जनाले म्याद थप गरि हाजिर गराईपाउँ भनी विभागमा पत्राचार गरेका थिए ।

कर्मचारी छनौट गर्दा जनशक्ति छनौट सम्बन्धि मापदण्ड २०७६ बमोजिम छनौट गरि कार्यरत रहेका कर्मचारीहरुलाई विभागले विभिन्न समयमा तालिम प्रदान गरि आयोजना उदेश्य प्राप्ति गर्न दक्ष जनशक्तिको रुपमा स्थापित गराएको विभागको पत्रमा उल्लेख गरिएको छ । त्यस्ता कर्मचारीहरुलाई म्याद थप नगरे आयोजनाको उदेश्य प्राप्ति गर्न कठिनाइ हुने विभागले जनाएको छ ।

मुख्य समाचार समाचार