एमालेले भदौदेखि कार्यकर्तालाई प्रशिक्षण दिने

नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो वार्षिक कार्ययोजना पारित गरेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकले कार्ययोजना पारित गर्दै आगामी भदौदेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए। 

प्रशिक्षण जनसंगठनबाट शुरू गर्न लागिएको हो। भदौ २ गतेदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भाग लिन पाउने भएको छ। 

प्रशिक्षण तीन दिनको हुनेछ भने ४० जनाको सहभागिता रहनेछ। त्यसपछि राष्ट्रिय युवा संघका युवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ।

क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभरिमा सातवटै जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले बताए। 

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिनेछन्। 

एमालेमा स्थानीय निर्वाचनअघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहेकाले पार्टीले प्रशिक्षण दिने लागेको उपमहासचिव ज्ञवालीले बताए। 

असोजदेखि दुई महिना सिङ्गो पार्टी पंक्ति निर्वाचनमा केन्द्रित हुने भएकाले विभागले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुसदेखि पुनः निरन्तरता दिनेछ। पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

विभागले पाठ्यसामग्री तयारी र प्रकाशनलाई पनि कार्ययोजनामा राखेको छ।

मुख्य समाचार