बागमती प्रदेशका २६३ बिद्यालयमा सूचना र बिज्ञान प्रयोगशाला निर्माणमा कार्यबिधि मिचेर काम 


हेटौंडा ।
 बागमती प्रदेशका २ सय ६३ बिद्यालयमा शैक्षिक सूचना प्रविधि प्रयोगशाला र बिज्ञान विषयगत प्रयोगशाला निर्माणमा कार्यबिधि मिचेर काम गरिएको पाइएको छ । बितेको आर्थिक वर्ष २०७८–०७९ मा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशका बिद्यालयहरुलाई अनुदान दिएर निर्माण गरिएका प्रयोगशालामा मन्त्रालयले तयार गरेको कार्यबिधिलाई मिचेर समेत काम गरेको पाइएको हो ।

प्रयोगशाला निर्माण गर्दा बिद्यालयहरुले बोलपत्र आवहान गरेर गर्दा पनि प्रतिस्पर्धा सिमित हुनेगरी काम गरिएको, घटाघटमा भन्दा पनि बिद्यालयलाई तोकिएको रकमको सिलिङमै धेरै विद्यालयले काम गरेको, मन्त्रालयको कार्यबिधिका सबै बुदालाई पालना नगरेको पाइएको हो ।

शिक्षा विकास निर्देशनालय हेटौंडाले शैक्षिक सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि २ सय ३ वटा बिद्यालयलाई १५ लाख रुपैयाँका दरले उपलब्ध गराउनेगरी रकम छुट्याएको निर्देशनालयका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले बताउनुभयो । बिद्यालयहरुले टेण्डर गरेर प्रयोगशाला तयार पार्दा केही रकम घट्न आएको उहाँले बताउनुभयो ।

त्यसैगरी ६० वटा बिद्यालयलाई १२ लाख रुपैयाँका दरले बिज्ञान विषयगत प्रयोगशाला निर्माण गर्नेगरी रकम छुट्याइएको थियो । यसमा पनि बिज्ञानका सामानहरु बिद्यालयहरुले खरिद गरेर निर्देशनालयमा बिल पठाएर रकम भुक्तानी लिएको उहाँले जानकारी दिनुभयो । दुबै प्रयोगशाला निर्माण गर्दा बिद्यालयहरुले प्रतिस्पर्धा सिमीत हुनेगरी प्रयोगशाला निर्माण गरेका छन् ।

वर्षै पिच्छे निर्देशनालयले शैक्षिक सूचना प्रविधि प्रयोगशाला र बिज्ञान विज्ञान विषयगत प्रयोगशाला निर्माणमा गर्नका लागि करोडौं रुपैयाँ रकम खर्च गरेको छ । तर, केही बिद्यालयले प्रयोगशाला पूर्ण रुपमा प्रयोगमा ल्याएपनि धेरैले पूर्ण रुपमा प्रयोगमा ल्याउननै सकेका छैनन् ।

२ सय ६३ वटै बिद्यालयमा निर्देशनालयले एकमुष्ट रुपमा ठेक्का लगाएर प्रयोगशाला निर्माण गर्दा धेरैले प्रतिस्पर्धा गर्न सक्ने भएपनि बिद्यालयहरुले छुट्टा छुट्टै प्रयोगशाला निर्माण गर्दा एकरुपता पनि आउन नसकेको र कार्यबिधि बेगर काम भएको पाइएको छ ।

विपदमा परेका बिद्यालयलाई एक करोड ९६ लाख सहयोग

शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशमा बिपद्मा परेका १४ विद्यालयलाई बिभीन्न काममा सहयोग गरेको छ । बितेको आर्थिक वर्षमा बिपद्मा परेर पढाइमा समेत बाधा पुगेका बिद्यालय भन्दा पनि सोर्षफोर्षका बिद्यालयमा मात्र यो रकम वितरण गरिएको आरोप लागेको छ ।

बिपद्मा परेर समस्या बेहोरेका बिद्यालयलाई प्राथमिकता दिनुपर्नेमा राजनीतिक पहुँचका आधारमा मात्र १ करोड ९६ लाख ६२ हजार रुपैयाँ वितरण भएको हो । बिपद्मा कठिनाइ भोग्नुपरेका बिद्यालयलाई क्षेतिका आधारमा बिद्यालयहरुलाई रकम उपलब्ध गराइएको निर्देशनालयका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले बताउनुभयो ।

१३ जिल्लाका छोरी, बुहारीले छात्रबृति रकम पाएनन्, एक करोड २५ लाख फ्रिज

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले बिद्यार्थीको हातमै पर्ने छात्रबृति रकम वितरणमा असक्षम देखिएको छ । प्रदेशभरीका गरिब, जेहेन्दार र छात्राहरुका लागि भनेर सरकारले छुट्याएको छात्रबृति रकम बितेको आर्थिक वर्षमा वितरण गर्न नसकेको हो ।

निर्देशनालयले बितेको आर्थिक वर्षमा कक्षा ११ र १२ का प्राबिधिक विषय अध्ययनरत बिद्यार्थीलाई दिइने छात्रबृति रकम बितेको आर्थिक वर्षमा २ जनालाई मात्र वितरण गरिएको शिक्षा विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले जानकारी दिनुभयो ।

प्रदेशका एक सय १९ वटै स्थानीय तहमा कक्षा ११ र १२ मा प्राबिधिक विषय कृषि, भेटिनरी, सिभिल इन्जिनियरिङ, वन बिज्ञान विषय अध्ययनरत बिद्यार्थीलाई लक्षित गरेर वितरण पढाइमा लाग्ने भर्ना र मासिक शुल्क वापत छात्रबृति रकम दिने भनिएपनि वितरण गर्न नसकिएको उहाँले वताउनुभयो । यस विषयमा प्रदेशभरीका बिद्यार्थीलाई जानकारी नभएर पनि समस्या भएको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौंडाले प्रदेशभरीका क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरु (छोरी–बुहारी) लाई छात्रबृति रकम दिने भनेर रकम छुट्याए पनि कार्यबिधि संसोधन हुन नसक्दा यो रकम पाउनबाट सबैजना छात्राहरु बन्चित भएका छन् ।

शैक्षिक छात्रबृति रकम वितरण गर्नका लागि कार्यबिधि अनुसार नमिल्ने भएमा कार्यबिधि मन्त्रीले संसोधन गर्न सक्ने व्यवस्था रहेको छ । तर, प्रदेशभरीका छोरी, बुहारीले पाउने छात्रबृति रकम वितेको आर्थिक वर्षमा कसैले पनि प्राप्त गर्न नसकेका हुन् ।

स्नातक तहमा अध्ययनरत छात्राहरुले पहिलो वर्षको बार्षिक परिक्षा दिएपछी दश हजार रुपैयाँ र स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरुले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तर, कोही पनि बिद्यार्थी बितेको आर्थिक वर्षमा परिक्षामा सामेल नभएकाले छात्रबृति रकम वितरण गर्न नसकिएको शिक्षा विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले जानकारी दिनुभयो ।

रकम वितरण गर्दा दोहोरोपन हुने भएकाले बितेको आर्थिक वर्षमा रकम वितरण गर्न नसकिएको बताउनुभयो । शैक्षिक छात्रबृतिका लागि एक करोड २५ लाख रुपैयाँ गत वर्ष छुट्याइएको थियो । जम्मा दुइजना बिद्यार्थीलाई छात्रबृति रकम दिएर सबै रकम फ्रिज गराइएको छ ।-janapatra

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार