मकवानपुरगढीको कृषि विकास शाखा र सरोकारवालाहरु बीच समन्वय बैठक

१७ भाद्र,मक्रान्चुली- मकवानपुरको जिल्लाको मकवानपुरगढी गाउँपालिकामा कृषि विकास शाखा र सरोकारवालाहरुको बीच समन्वय बैंठक सम्पन्न भएको छ । कृषिसँग सम्बन्धित कार्यालय, संघ संस्था, सहकारी, कृषक समूह, अनुसन्धान केन्द्र, बैंक तथा वित्तिय संस्था, जनप्रतिनिधि लगायतका सरोकारवालाहरु सँग समसामयिक विषयमा समन्वयात्मक बैठक भएको हो।

गाउँपालिकाको कार्यालय मक्रान्चुलीमा भएको कार्यक्रममा विशेष गरेर किसान कृषि कर्जा कार्डको विषयमा छलफल केन्द्रित रहेको थियो । गत वर्ष देखि कार्ड मार्फत साना किसानहरुलाई सहुलियत दरको कृषि कर्जा प्रवाह भैरहेकोमा नेपाल बंगलादेश बैक र नबिल बैक मर्जर पश्चात काम अगाडी बढ्न सकेको छैन ।

किसान कृषि कर्जा कार्ड वितरणको अवस्था र यसको प्रभावकारिताको विषयमा कृषि अधिकृत चन्द्रकान्त चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सोहि विषयमा सहभागीहरु वीच बृहत छलफल गरिनुका साथै कार्यक्रममा सहभागीहरुले आफूले भोगेका समस्याहरु, सुधार गर्नुपर्ने विषयहरुको वारेमा आ आफ्नो धारणा राखेका थिए ।

साना किसानहरुको लागि यो महत्वपूर्ण कार्यक्रम रहेकोले यसलाई सम्बन्धित सरोकारवालाहरुसँग थप छलफल गरि चाँडै कार्यान्वयन गरिने निचोडमा पुगेको अधिकृत चौधरीले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्गतानको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा न १, २, ५, ६ र ७ का वडाध्यक्ष, विषयगत शाखाका प्रमुखहरु, किसान कर्जा कार्ड कार्यक्रममा सहभागी सहकारी संस्थाहरुका अध्यक्ष,व्यवस्थापक लगायत किसान कर्जा कार्ड पाएका कृषकहरु गरि ३० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्गतानले सवै कृषक तथा सहकारीहरुलाई उत्पादन तथा विविधिकरणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सरोकारवालाहरुसँग समन्वय गरि कृषि ऋण उपलब्धता तथा उत्पादन बजारीकरणको लागि सहजीकरण गर्न पालिका सधै तयार रहेको धारणा व्यक्त गर्नुभएको छ ।

बागमती प्रदेश मुख्य समाचार विज्ञान प्रविधि