नागरिकता विधेयक हितविपरीत, सत्ता टिकाउन गठबन्धनको घृणित काम : ईश्वर पोखरेल

 नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन्। 

शुक्रवार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यान उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले साँध सीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताए। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर १०० दिनको काम भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाएको आरोप लगाए। उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा एक वाक्य बोल्न नसकेको बताए। 

‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ?, उनले भने, ‘दलको साँध सीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने, आँच पुर्‍याउने कुरा हो। यसप्रति दुःख व्यक्त गर्नुपर्छ।’

पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए। उनले अहिलेको गठबन्धन सरकारले सीमा पारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए।

उनले निर्वाचनपछि एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे। जनताका हकहित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने उनको जोड छ। 

मुख्य समाचार राजनीति समाचार