निलम्बित प्रधानन्यायाधीश  चाेलेन्द्रले दिए ४३ प्रश्नकाे जवाफ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिमा बयान सकिएको छ। भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको समितिले जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै बयान सकिएको हो। चाेलेन्द्रलाई साेध्न समितिले ४३ वटा प्रश्न तयार पारेकाे थियाे।

जबराको बयान सकिए पनि पूरक प्रश्नका लागि आवश्यक परे फेरि बोलाइने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए। महाभियोग सिफारिस समितिले राणामाथिको छानबिन प्रतिवेदन भदौ मसान्तसम्म बुझाउने तयारी गरेको छ। 

जबरासँग जोडिएका विषयलाई अन्तिम रूप दिन भोलि समितिको बैठक बस्दै छ।

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो। 

बयानका क्रममा उनले राजनीतिक दलका शीर्ष नेता र आफ्नै सहकर्मीलाई आरोप लगाएका छन्। त्यस्तै उनले आफूविरुद्धको महाभियोगको औचित्य नै नभएको बताउँदै आएका छन्।

संसदको आयु अब तीन दिन मात्र बाँकी हुँदा महाभियोग के हुने भन्ने अझै अन्योल छ। महाभियोग के हुन्छ भन्नेमा कानुनव्यवसायी नै विभाजित छन्। एक पक्षले अब यो स्वतः निष्क्रिय हुने बताउँदा अर्को पक्षले यो अर्को संसद्ले पनि गर्न सक्ने दाबी गरेका छन्। 

मुख्य समाचार राजनीति