हेटौँडा–१६ मा बागमती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौंडा : बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार पत्रकारहरूसँग हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्।

उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए। प्रादेशिक संरचना निर्माणका लागि चालू आव ०७९/८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री पाण्डेले बताए।

उनका अनुसार हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरु, प्रदेशसभा भवन, प्रदेश लोक सेवा आयोग, सांसददेखि मन्त्रीका निवसा, विभागहरू, प्रहरी बिटसहितको संरचना निर्माण हुनेछन्।

बागमतीमा सरकार गठन भएको ४ वर्षपछि ११ फागुन ०७८ मा प्रदेश सरकारले हेटौँडाको ८ ठाउँमा जग्गा पहिचान गरी प्रादेशिक संरचना निर्माण गर्न स्वीकृतिका लागि संघीय सरकारसमक्ष सिफारिश गरेको थियो।

११ कात्तिक ०७८ मा बागमतीमा पाण्डे नेतृत्वको सरकार गठन भएपछि प्रशासनिक भवन जग्गा पहिचान समिति बनाएर प्रादेशिक संरचना बनाउन नयाँ जग्गा खोजी गरिएको थियो। उक्त समितिले ८ वटा जग्गामा संरचना बनाउन कूल १ सय ९५ दशमलव २७ बिघा जग्गा पहिचान गरेर सरकारलाई प्रस्ताव गरेको हो।

हेटौँडा उपमहानगरपालिका–१९ लेवटमा ८० बिघा जग्गा पहिचान गरिएको थियो। यसैगरी, हेटौँडा–१६ मा ५४ बिघा, हेटौँडा–६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौँडा–९ लामसुरेमा १५ बिघा, हेटौँडा–१७ हटियास्थित डिपोचौरमा १२ बिघा, हेटौँडा–९ स्थित हेटौँडा सिमेन्टको स्वामित्व रहेको ५ बिघा, हेटौँडा–८ भोर्लेमा २ दशमलव १३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २ दशमलव १४ बिघा जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि प्रस्ताव गरिएको थियो।

यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–२ स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डिपिआर निर्माण गरेका थिए।

हाल मुख्यमन्त्री कार्यालय रहेको क्षेत्र साँघुरो रहेको भन्दै पाण्डे नेतृत्वको सरकारले प्रादेशिक संरचना हटियामा बनाउने निर्णय गरेको हो।

हेटौँडाको मुख्य बजारबाट हटिया करिब १५ किलोमिटर दूरीमा छ। हटिया काठमाडौं–निजगढ द्रुतमार्गबाट नजिक र धरान–चतरा–हेटौँडा सडक खण्डसँग जोडिएको क्षेत्र हो।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार समाज