समानुपातिकतर्फ ४८ दलले बुझाए सूची

निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। 

निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले आज विहान ५ वजेसम्म ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएको जनाएका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए। 

प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन्।

आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ। छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ।

मुख्य समाचार राजनीति