मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा कँडेल  निर्वाचित 

हेटौंडा | मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को अध्यक्षमा हरिप्रसाद कँडेल निर्विरोध निर्वाचित भएका छन्  ।

शुक्रबार संघका अध्यक्ष बासुदेव अधिकारीको सभाध्यक्ष तथा जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न २९ औं वार्षिक साधारणसभा तथा अधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, महिला सदस्यमा सावित्री तिमल्सिना र सरिता तिमल्सिना , खुल्ला सदस्यहरुमा जनकप्रसाद रेग्मी, धनबहादुर कार्की, इन्द्रप्रसाद खतिवडा, कृष्णप्रसाद चौलागाईं, हेमप्रसाद न्यौपाने र तिलकप्रसाद रेग्मी सर्वसम्मत चयन भएका छन् । साथै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा विरबहादुर गोले, सदस्यहरुमा देवराज भण्डारी र खीलारत्न लामा पनि निर्विरोध चयन भएका छन् ।

संघको साधारणसभा कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछाने, मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुरगढी-४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल र हेटौंडा दुग्ध वितरण अयोजनाका प्रमुख नविन किशोर शर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।

साधारणसभा तथा अधिवेशन भीमफेदी-१ स्थित बुङदलमा रहेको दुग्ध प्रशोधन उद्योग परियोजना कार्यालयको परिसरमा भएको थियो ।

समाचार समाज सहकारी