कांग्रेसलाई बागीको पिरलो : हिजो कारबाही, आजै फुकुवाको अफर !

निर्वाचन आयोगले तोकेको समयमा बागी उम्मेदवारले मनोनयन पत्र फिर्ता नगरेपछि नेपाली कांग्रेसले फकाउन सुरु गरेको छ।

बुधबार दिउँसो १ बजेसम्मको समयमा उम्मेदवारी फिर्ता नगरेका बागीलाई ५ वर्षका लागि निष्काशन गरेको कांग्रेसले बिहीबार फेरि विज्ञप्ति निकालेर कारबाही फुकुवाको अफर गरेको हो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै अहिले पनि उम्मेदवारी फिर्ता लिएर गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गरे कारवाही फुकुवा गर्ने आश्वासन दिएका छन्।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’ विज्ञप्तिमा उल्लेख छ।

सत्तारुढ गठबन्धनका उम्मेदवार उठेका केही स्थानमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन्। जसले आधिकारिक उम्मेदवारलाई समस्या पर्ने भएपछि कांग्रेसले बागीलाई फकाउन सुरु गरेको हो।

बुधबार कांग्रेसले बागी उठेका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको थियो।

मुख्य समाचार राजनीति समाचार