कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फारामको व्यवस्था गर्ने तयारी: राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा-९ मा मात्रै रजिष्ट्रेशन फाराम भर्ने व्यवस्था गर्न लागेको छ। बोर्डले दोहोरो रजिष्ट्रेशन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेशन फाराम भरे हुने गरी तयारी गरिएकाे जनाएको छ।

माध्यमिक तहमा कक्षा‍ ९ र ११ मा दोहोरो रजिस्ट्रेशन फाराम भराउने गरिएको थियो। परीक्षा बोर्ड, प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले भने, ‘कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फाराम भराउने र कक्षा ११ मा भने नभराउने तयारी भइरहेको छ तर अझै निर्णय भने हुन बाँकी छ।’

उनका अनुसार निर्णय भएमा कक्षा १२ सम्म एउटै रजिष्ट्रेशनले काम गर्नेछ। परीक्षा बोर्डले गत असोज २५ गते वार्षिक तालिका निकाल्दै कक्षा ११ का लागि रजिस्ट्रेशन फाराम भर्नका लागि कात्तिक मसान्तसम्मको समय अवधि दिएको छ।

त्यसैले यसपटक भने कक्षा ११ का विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्नुपर्ने हुन्छ। तर यो व्यवस्था लागू भएमा २०८० सालदेखि कक्षा ११ का विद्यार्थीले उक्त फाराम भर्नु नपर्ने बोर्डले जनाएको छ। 

बोर्डले कक्षा-११ का लागि प्रतिविद्यार्थीबाट रजिष्ट्रेशन शुल्क ८ सय रुपैयाँ उठाउँदै आएको छ। त्यसैगरी बोर्डले कोडमा एकरूपता कायम हुँदा काम गर्न सहज हुने भन्दै विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ। 

शिक्षा समाचार