माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आदेश

गौर : रौतहटमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ का उम्मेदवार माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काटेको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरेले पत्र लेखी नेपाललाई कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन्। नेपालले फ्रीमा युवालाई विदेश पठाउने सार्वजनिक वक्तव्य दिएकाले आयोगले उनलाई कारबाही गर्न निर्देशन दिएको हो।

उनले आफू चुनाव जिते ‘बिना ढेउवा के भिसा मिली, बिना ढेउवा के मिलि, बिना ढेउवाके काठमाडौँमे रहेका घरके चाभि मिल्तै’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको र उक्त अभिव्यक्ति नेपालको भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बिहीबार आयोगले उल्लेख गरेको छ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउन नपाइने व्यवस्था छ। ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीत काम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

आयोगले पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाएकाले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेखेको हो।

मुख्य समाचार राजनीति समाचार