पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन 

पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति उनको निधन भएको हो। 

श्वासप्रश्वासको समस्या देखिएपछि गत शुक्रवारदेखि उनी अस्पतालमा थिइन्। उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको निधन भएको उनका धर्मपुत्र टंकनाथ पौडेलले जानकारी दिए। 

२००३ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ को निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। 

नेपाल आमा सम्मानबाट सम्मानित उनी चितवनस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक थिइन्। धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथि छ।  

उनको पार्थिव शरीर शनिबार बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने बताइएको छ। यसपछि उनी संरक्षक रहेको मैयाँदेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने  कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।

विसं १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मिएकी श्रेष्ठ अविवाहित रहिन्।  

मुख्य समाचार राजनीति समाचार