समाजका चुनौती सकारात्मक रूपमा समाधान गर्न आवश्यक : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतीलाई सकारात्मक रूपमा समाधान गर्न आवश्यक रहेको बताएका छन्।

आइतवार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उनले यस्तो बताएका हुन्। नेता सिंहले आगामी दिनमा समाजमा रहेका हरेक चुनौतीको सकारात्मक दृष्टिकोणबाट मात्रै सामना गर्न सकिने दाबी गरे।

उनले समाजका चुनौतीलाई बोलेर नभई कार्यान्वयनमा ल्याएर देखाउन जरुरी रहेको बताए। नेता सिंहले यतिवेला सबै राजनीतिक दल र नेताहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यस्त रहेकाले आफू पनि निर्वाचनमा लागिरहेको चर्चा गरे। उनले आगामी निर्वाचनमा विजयी हुन आफ्नो टिम हरेक किसिमबाट लागिपरेको बताए।

उनले भने, ‘आगामी दिनमा समाजमा भएका हरेक चुनौतीलाई हामी समाधान गर्दै जानेछौँ। त्यसका लागि आवश्यक नीति निर्माणका काममा हामीले विशेष ध्यान दिनेछौँ।’

नेता सिंह नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।    

मुख्य समाचार राजनीति समाचार