एमालेको चुनावीसभा आजदेखी,सभामा सहभागी हुन ओलि दार्चुला पुग्दै


१८ कार्तिक- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले राष्ट्रव्यापी चुनावी अभियानको तय गरेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट एमालेले चुनावी आमसभा सुरू गर्न लागेको हो । राष्ट्रव्यापी चुनावी अभियान सुरू गर्न एमाले अध्यक्ष ओली धनगढी पुगिसकेका छन् भने अबको केहिबेरमा दार्चुला पुग्ने आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएका छन् । उनले पोस्ट गरेका छन् –

“धनगढीबाट सबैलाई नमस्कार !
अब केही समयपछि म सुदुरपस्चिम दार्चुला जाँदै छु। तपाईहरु सबैको दिन शुभ रहोस् ।”



आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई मुख्य आधार बनाई त्यहीँबाट चुनावीसभा शुरु गर्नु अर्थपूर्ण रहेको जनाइएको छ ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’ एमाले प्रदेश सचिव धर्म पाठकले भने ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’

पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।

‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

दार्चुला सदरमुकाम खलंगामा आज बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । साथै आजै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

मुख्य समाचार राजनीति सुदूरपश्चिम प्रदेश