राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्याण्ड जाने

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाने भएकी छन्। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा जाने भएकी हुन्। राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ। कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चारवटै सुरक्षानिकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।

मुख्य समाचार राजनीति