टक्कर दिएपछि केपी ओली बहुलाएर हिँडे: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन्।

बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन्।

उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए। उनले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताए।

अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए। उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए।

उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए। अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतीको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताए। उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गरे।

मुख्य समाचार राजनीति समाचार