एमालेको आम्दानीको स्रोत भनेको भ्रष्टाचार र लुट : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए। अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको स्रोत भनेको भ्रष्टाचार र लुट रहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौँ, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। आज उनले चुनावमा गरिरहेको खर्च हेर्न त, अर्बौं अर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ? आम्दानीको स्रोत के हो? लुट र भ्रष्टाचार हो। अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन्।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताए। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए। उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे।

उनले भने, ‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही गर्‍यौँ। ६० हजार परिवारलाई जग्गा बाँड्ने काम ग¥यौं। यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ। १०० बाट शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउनेछौँ।’

मुख्य समाचार राजनीति समाचार