नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार: चन्द्र भण्डारी

गुल्मी :  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए।

नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको  बताए। उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको जिकिर गरे।

नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता भएको बताए। उनले नेपाली राजनीतिमा बेइमान नेताहरू भएको स्पष्ट पारे। उनले खरको छाना हालेर बस्नेहरूलाई गरिब भनेर विस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको आरोप लगाए।

‘हामीलाई थाहा छ, नेपालको रोग के हो, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो। अब जोसुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पति नेपाल आमालाई फिर्ता गर्नुपर्छ। युवाहरूलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो।

नेपाललाई रित्तै गर्ने, जोश छैन, जाँगर छैन। यसको निधान हामीले गर्नुपर्छ’, उनले भने, ‘ आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै छौँ। २२ खर्ब व्यापार घाटा छ। १२ खर्ब राजश्व उठ्छ जम्मा। कहाँबाट विकास गर्ने नेपालले। हाम्रा घरका वस्तीलाई हामीले गरिब वस्ती भनेर हेप्यौँ, तर अहिले शहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौंको व्यापार गरिरहेका छन्। न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै। हामी नेपाली भुमिका बेइमान सन्तान र नेताहरू हौँ। अब यसको अन्त्य हामीले गर्नुपर्छ  र मंसिर ४ गते बिदाइ गर्नुपर्छ।’ नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदा गर्नुपर्ने बताए। उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे।

मुख्य समाचार राजनीति समाचार