पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल हेर्ने एकजना दर्शकलाई विश्वकपको टिकट

आगामी ३० कात्तिकका लागि तय भएको नेपाल-पाकिस्तान मैत्रीपूर्ण खेल हेर्ने एकजना भाग्यशाली दर्शकले कतार विश्वकपको टिकट पाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण गरेको छ। एन्फाले टिकटको मूल्य साधारणतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रूपैयाँ राख्दा भिआइपीतर्फको प्राइम लोकेशनमा ८० दर्शकका लागि ५ हजार टिकट मूल्य निर्धारण गरेको छ।

५ हजार खर्च गरेर खेल हेर्न पुग्ने दर्शकलाई नेपाली राष्ट्रिय टिमको जर्सी र सामान्य खानपिनको व्यवस्था गरिने पनि जनाइएको छ। एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानी टिम कात्तिक २७ गते काठमाडौं आइपुग्ने जानकारी दियो।

नेपाली टिम प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा बन्द प्रशिक्षणमा रहेको छ। पाकिस्तान र नेपालबीचको खेलबाट एकजना भाग्यशाली विजेताले गोलाप्रथामार्फत फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट जित्ने एन्फाले जनाएको छ।

तर टिकटबाहेक आउने-जानेसहित बाँकी खर्च भने टिकट विजेता आफैंले व्यवस्थापन गर्नुपर्ने एन्फाले जनाएको छ। मैत्रीपूर्ण खेल सम्पन्न गर्न ४५ लाख रूपैयाँ खर्च हुने एन्फाले जनाएको छ।

अन्तराष्ट्रिय खेलकुद