झापा : क्षेत्र नं ५ को निर्वाचनमा ओली र अधिकारीबीच मुख्य प्रतिस्पर्धा

झापा : क्षेत्र नं ५ को निर्वाचनमा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्। 

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जनाको उम्मेदवारी परेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै  प्रतिस्पर्धा भएको थियो।

त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो। उनले अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए। गत निर्वाचनमा कांग्रेस एक्लै थियो भने यो पटक उसलाई अन्य दलको साथ छ। 

ओलीले २०७४ सालमा ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा जस्तै ओलीलाई यो पटक पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ।  

संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन्। संविधानसभा निर्वाचनमा भने उनी माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। ओली पाँच पटक लगातार यो क्षेत्रबाट निर्वाचित भएका छन्।  

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो। एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ। तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेषक बताउँछन्।  

वडागत रुपमा भने एमाले बलियो छ। क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा २९ वडा छन्। गौरादह नगरपालिकाको वडा नम्बर १ देखि ७सम्म एमालेले चार वटामा जितेको थियो। कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। 

गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो। दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो। 

मुख्य समाचार राजनीति