सबैभन्दा कान्छा प्रतिस्पर्धी  अब्दुसदेखि सय वर्षका टीकादत्तसँग भिड्दै प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘हेभीवेट’ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ को निर्वाचनमा चितवन छाडेर गोरखा–२ मा प्रतिस्पर्धा गर्न उक्लिएपछि उनी चर्चामा छन्।

गोरखा-२ मा सत्तारुढ गठबन्धन बाहेकका अन्य दल तथा उम्मेदवार भने आफूलाई बलियो बनाउन ‘टुरिस्ट’ नेता आएकाले प्रचण्डलाई पराजित गर्नुपर्ने भन्दै घरदैलो अभियानमा जुटिरहेका छन्।

सत्तारुढ गठबन्धन भने चितवनमा जस्तै विकासको गति गोरखामा पनि ल्याउनका लागि गोरखावासीले प्रचण्डलाई जिताउनै पर्ने बताउँदै आएको छ। गठबन्धनको साथ पाएकाले आफूलाई बलियो ठानिरहेका प्रचण्ड बाबुरामको समेत साथ पाएपछि चुनावी नतिजा आफ्नो पक्षमा आउने कुरामा विश्वस्त रहेको देखिन्छ।

यस पटकको निर्वाचनमा महत्त्व दिइएका ६६ वर्षीय प्रचण्डसँग अन्य ११ जना उम्मेदवार पनि चुनावी मोर्चामा डटेका छन्।

प्रचण्डसँग प्रतिस्पर्धी रहेकाहरूमध्ये २ जना उम्मेदवारका नाम अगाडि आउँछ। पहिलो हुन्- सत्तारुढ गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले) बाट उम्मेदवार रहेका अब्दुस सलाम मियाँ।

२०५० सालमा गोरखामा जन्मेका अब्दुसले २०७४ सालमा रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीतिक यात्रा शुरु गरेका थिए। गोरखामा जन्मिए पनि परिवारसहित काठमाडौंमा बसाइँ सरेका उनी एमालेको राजनीतिमा छिरे। विवेकशील नेपाली पार्टी हुँदै एमालेमा पुगेका उनलाई एमालेले प्रचण्डसँग भिडाएको छ।

सबैभन्दा कान्छा प्रतिस्पर्धी २९ वर्षे अब्दुसलाई भोगिरहेका प्रचण्डले सबैभन्दा बढी उमेर भएका सय वर्षका टीकादत्त पोखरेलसँग पनि एकैसाथ प्रतिस्पर्धा गरिरहेका छन्।

सिरानचोक गाउँपालिका–४ माझगाउँका पोखरेल नेपाली काँग्रेस (बिपी) बाट चुनावीमा मोर्चामा उत्रिएका छन्। एक त प्रचण्डसँगको प्रतिस्पर्धा दोस्रो एक शताब्दीका मान्छे भएर पनि उनले मतदातादेखि सञ्चारमाध्यमसम्मको ध्यान तानिरहेका छन्।

नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्ति सेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइ गरेको बताउने उनले अहिलेका नेताहरूमा मातृभूमिप्रति कुनै जिम्मेवारी बोध नभएको तर्क गर्छन्।

बिपी कोइरालाको साथमा रहेर काम गरेका उनले अहिलेका नेतामा बिपीको सन्देश नै कायम नरहेकाले बिपीको भाव जोगाउन पनि आफू चुनावमा आएको टीकादत्त बताउँछन्। परेवा चुनाव चिह्न लिएर उठेका उनी आफ्नो लक्ष्य हिन्दु राष्ट्र स्थापना गर्नु रहेको बताउँछन्।

umm

मुख्य समाचार राजनीति समाचार